गाैशाला, बैशाख १६ गते ।
महोत्तरीको बलवा नगरपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान, गठ्ठाघर भक्तपुरको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी बनौटामा सञ्चालन गरिएको दुई दिने निःशुल्क महिला प्रजनन स्वास्थ्य, रुग्णता परीक्षण तथा अप्रेशन छनोट शिविर सम्पन्न भएको छ ।
शिविरमा जम्मा ५६४ जना महिलाहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक अप्रेशनका लागि छनोट सेवा प्राप्त गरेका छन्। महिला स्वास्थ्य सुधार तथा प्रजनन सम्बन्धी समस्याको पहिचान र उपचारमा शिविर प्रभावकारी बनेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राम विजय महतोले महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमले स्थानीय महिलाहरूलाई प्रत्यक्ष लाभ पुगेको बताउनुभयो। उहाँले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, प्राविधिक टोली, स्वयंसेवक, कर्मचारी, जनप्रतिनिधि तथा सम्पूर्ण सहकर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
नगर प्रमुख महतोले आगामी दिनमा पनि महिला स्वास्थ्य, सुरक्षित मातृत्व र गुणस्तरीय स्वास्थ्य सेवाका लागि नगरपालिका निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


