गाैशाला, बैशाख १८ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित किशोरी तथा छात्राहरूको ४ दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सम्पन्न भएको छ ।
तालिममा मटिहानी, सिमरदही, मझौरा बिसनपुर र सिरसिया माध्यमिक विद्यालयका ४० जना किशोरीहरूको सहभागिता रहेको थियो ।
समापन समारोहमा नगर प्रमुख हरि प्रसाद मण्डलले सहभागी छात्राहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख दिपा कुमारी दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष कलिम अन्सारी, कार्यपालिका सदस्य सुनकेसी चौधरी, प्रशिक्षकहरू पिंकी शर्मा र गुञ्जा कुमारी राय लगायतको उपस्थिति रहेको थियो।
चार दिनसम्म सञ्चालन भएको तालिममा सहभागी किशोरीहरूलाई आत्मरक्षासम्बन्धी विभिन्न व्यावहारिक तथा सैद्धान्तिक सीपहरू प्रदान गरिएको थियो।
नगरपालिकाले किशोरीहरूको आत्मविश्वास वृद्धि, सुरक्षा सचेतना तथा विपद् परिस्थितिमा आत्मरक्षा क्षमता विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

