धनुषाको जनकपुरधाममा रहेको कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रियापछि एक महिलाको मृत्यु भएपछि उत्पन्न विवाद अन्ततः आर्थिक सहमतिमा टुंगिएको छ ।
महाेत्तरीकाे बलवा नगरपालिका–१ की ३६ वर्षीया रागनी देवी पासवानको उपचारका क्रममा मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका थिए। वैशाख १६ गते गरिएको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार उनको निधन भएको हो ।
परिवारजनले सहमतिअनुसार ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया नगरी पेट चिरेर अप्रेसन गरिएको तथा चिकित्सकीय लापरबाहीकै कारण मृत्यु भएको आरोप लगाएका छन्। घटनापछि अस्पताल परिसरमा प्रदर्शन र तोडफोडसमेत भएको थियो ।
पछि अस्पताल प्रशासनले उपचार शुल्कस्वरूप बुझाइएको ८० हजार रुपैयाँ फिर्ता गर्नुका साथै एक लाख रुपैयाँ अतिरिक्त क्षतिपूर्ति उपलब्ध गराएर परिवारसँग सहमति गरेको जनाइएको छ ।
मृतक पक्षले न्यायिक प्रक्रियाभन्दा आर्थिक तथा प्रशासनिक दबाबका कारण मिलापत्र स्वीकार्नुपरेको बताएका छन्।
उपचारमा संलग्न चिकित्सक पक्षले भने बिरामीको अवस्था र परिवारको सहमतिअनुसार शल्यक्रिया गरिएको दाबी गर्दै लापरबाही अस्वीकार गरेको छ ।
घटनाले निजी स्वास्थ्य संस्थामा उपचार सुरक्षा, पारदर्शिता र जिम्मेवारीबारे पुनः बहस सिर्जना गरेको छ ।

