गाैशाला, बैशाख २० गते ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आयोजनामा गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
“शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी तथा सञ्चारसम्बद्ध संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
गौशाला बजार परिक्रमा गरिएको प्रभातफेरीपछि आयोजित अन्तरक्रिया कार्यक्रममा राजकरण महतोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारिता शान्ति, सुशासन र मानव अधिकार संरक्षणको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले गलत सूचना, दमन तथा प्रेसमाथिको हस्तक्षेपविरुद्ध सञ्चारकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
महासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दासले निष्पक्ष, जिम्मेवार र जनउत्तरदायी पत्रकारिताले मात्र लोकतान्त्रिक मूल्यलाई सुदृढ बनाउन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश समिति सदस्य सुनिता कुमारी महतो, वरिष्ठ पत्रकार राकेश प्रसाद चौधरी तथा वडा अध्यक्ष ओम प्रकाश गुप्ताले पनि प्रेस स्वतन्त्रताको संरक्षण सबै पक्षको साझा जिम्मेवारी भएकोमा जोड दिएका थिए ।
सहभागीहरूले पत्रकारिताको गुणस्तर अभिवृद्धि, अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा सत्यमा आधारित सञ्चार अभ्यासलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष मे ३ मा विश्वभर मनाइँदै आएको छ ।

