गाैशाला, बैशाख २२ गते ।
बिपी राजमार्गको रोशी गाउँपालिका क्षेत्रमा वर्षाका कारण आएको बाढीपछि बीच बाटोमै रोकिएका पाँच माइक्रोबसका ८९ यात्रुलाई सुरक्षा निकायले रातारात उद्धार गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा रहेका यात्रुहरूलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाएको हो ।
प्रहरीका अनुसार यात्रुको सुरक्षालाई बेवास्ता गर्दै जोखिम मोलेर सवारी चलाएको आरोपमा पाँच माइक्रोबस चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
रोशी खोलामा पानीको बहाव बढेर अस्थायी डाइभर्सनमा क्षति पुगेपछि बीपी राजमार्गको उक्त खण्डमा आवागमन बन्द गरिएको छ । सुरक्षा निकायले सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

