झापा, बैशाख २३ गते ।
झापाकाे शिवसताक्षी नगरपालिका–९ चिल्लागढ धाम नजिक आज बिहान इको होम कलेजको बस दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन् ।
बिहान करिब ६:१५ बजे ब्याङ्डाडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड–१ स्थित इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
दुर्घटनाको समयमा बसमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा बुद्धशान्ति गाउँपालिका–४ निवासी २४ वर्षीय सहचालक प्रकाश सिलुवालसहित चार जना घाइते भएका छन्। अन्य घाइतेहरूमा शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल रहेका छन् ।
प्रहरीका अनुसार घाइते सबैको हातखुट्टामा सामान्य चोट लागेको छ। उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको छ। सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

