काठमाडौं, बैशाख २३ गते ।
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेन बीच स्वास्थ्य क्षेत्रीय सहकार्यका विषयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका अवसरमा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, खोप सेवा विस्तार, रोग नियन्त्रण तथा सार्वजनिक स्वास्थ्य सुधारमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। उनले नेपाल सरकारले अघि बढाएको सुधारमुखी कार्यदिशाले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई थप मजबुत बनाउने बताइन् ।
मन्त्री मेहताले एड्स, क्षयरोग, मलेरिया नियन्त्रण तथा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा बेलायतसहित अन्तर्राष्ट्रिय साझेदारहरूको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा सहयोग अझ परिणाममुखी हुने अपेक्षा व्यक्त गरिन् ।
राजदूत फेनले नेपालको स्वास्थ्य सेवा प्रणाली सुधार, क्षमता अभिवृद्धि र नागरिक स्वास्थ्य सुरक्षाका क्षेत्रमा बेलायत सरकारको साथ निरन्तर रहने प्रतिबद्धता दोहोर्याए। उनले नेपालसँगको सहकार्यलाई थप विस्तार गर्दै जनस्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान गर्ने विश्वास व्यक्त गरे ।

