गौशाला, बैशाख २४ गते ।
महाेत्तरीकाे गौशाला नगरपालिका वडा नं. १२ को गैरिटोल निवासी भोगिन्द्र ठाकुरका ३५ वर्षीय छोरा श्याम ठाकुर को बसको ठक्करबाट मृत्यु भएको छ ।
सर्लाहीको सग्रामपुर–बाँके सडक खण्ड मा आज बिहान करिब ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका वडा नं. ९ स्थित संग्रामपुरबाट बाँकेतर्फ जाँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक नितेश कुमार सिंह का अनुसार दुर्घटनामा मोटरसाइकल चालक ठाकुरको ज्यान गएको हो ।
प्रहरीले शव पोस्टमार्टमका लागि पठाइएको तथा आवश्यक प्रक्रिया पूरा भएपछि आफन्तलाई बुझाइने जनाएको छ । दुर्घटनापछि स्थानीय क्षेत्रमा शोक व्याप्त भएको छ ।

