गाैशाला, बैशाख २५ गते ।
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा आज सञ्चारकर्मीहरूसँग ‘पोषण विशेष कार्यक्रम तथा राष्ट्रिय पोषण लेखाजोखा’ सम्बन्धी एक वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको समग्र पोषण स्थिति, देखिएका चुनौती र हाल सञ्चालन भइरहेको राष्ट्रिय अभियानका बारेमा आम नागरिकलाई सञ्चार माध्यममार्फत सुसूचित गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय, जलेश्वरकाे पोषणका फोकल पर्सन प्रतिभा सिंहले जिल्लामा बैशाख १५ गतेदेखि नै राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको जानकारी दिनुभयो । यो अभियान आगामी बैशाख ३१ गतेसम्म जारी रहने भएकाले यस अवधिभित्र कोही पनि बालबालिका परीक्षणबाट नछुटुन् भन्नेतर्फ स्वास्थ्य कार्यालयले विशेष सतर्कता अपनाएको उहाँले बताउनुभयो ।
विशेषगरी ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरू र सुनौला हजार दिनका आमा तथा बालबालिकाहरू (गर्भावस्थादेखि २ वर्षसम्मको अवधि) लाई लक्षित गरी यो लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । फोकल पर्सन सिंहले १५ गतेदेखि नै कार्यक्रम सुरु भए तापनि भौगोलिक विकटता, चेतनाको अभाव वा अन्य प्राविधिक कारणले गर्दा अझै पनि केही बालबालिकाहरू यो प्रक्रियामा सहभागी हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले ३१ गतेसम्मको समय सीमा बाँकी रहेकाले अहिलेसम्म स्वास्थ्य जाँच गराउन छुटेका सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बालबालिका लिएर नजिकैको परीक्षण केन्द्रमा पुग्न हार्दिक अनुरोध गर्नुभएको छ। बालबालिकाको शारीरिक र मानसिक विकासका लागि उनीहरूको पोषण अवस्था थाहा पाउनु अनिवार्य रहेको र यसले भविष्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पोषणको अवस्था सुधार्न समुदायस्तरमा सूचनाको पहुँच पुर्याउनुपर्नेमा जोड दिएका थिए। स्वास्थ्य कार्यालयले पनि सञ्चार जगतको महत्वपूर्ण भूमिकालाई आत्मसात गर्दै गाउँ–टोलमा रहेका लक्षित वर्गसम्म यो सन्देश पुर्याइदिन आग्रह गरेको छ ।
सुनौला हजार दिनभित्रका आमा र बच्चाको पोषणमा गरिने लगानीले नै देशको भविष्य निर्धारण गर्ने भएकाले यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको कार्यक्रममा निष्कर्ष निकालिएको छ ।

