काठमाडौं, बैशाख २६ गते ।
दाङको राजपुर गाउँपालिका–४ मोतीपुरस्थित सामुदायिक वन क्षेत्रमा काठ संकलनको विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब १२ः४५ बजे स्थानीय ५५ वर्षीय भोला यादवमाथि धारिलो हतियार प्रहार हुँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार सोही गाउँका करिब ४० वर्षीय इश्वर हरिजनसँग रामजानकी सामुदायिक वनबाट काठ लिने विषयमा विवाद बढेपछि आक्रमण भएको खुलेको छ ।
टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि आरोपित फरार रहेका छन् भने उनको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। साथै, विवादको वास्तविक कारण, संलग्न पक्ष र अन्य परिस्थितिबारे थप तथ्य संकलन भइरहेको छ ।

