काठमाडौं, बैशाख २६ गते ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष तथा विज्ञ सदस्य पदपूर्तिका लागि योग्य नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ। सहकारी ऐन २०७४ तथा निर्धारित मापदण्डअनुसार प्राधिकरणको नेतृत्व चयनका लागि सार्वजनिक रूपमा दरखास्त आह्वान गरिएको हो ।
अध्यक्ष पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी प्रशासन, बैंकिङ, वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक छ। यस्तै विज्ञ सदस्य पदका लागि सम्बन्धित क्षेत्रमा न्यूनतम १० वर्षको अनुभवसहित आवश्यक शैक्षिक योग्यता तोकिएको छ ।
इच्छुक उम्मेदवारले सहकारी क्षेत्रमा रहेका समस्या, चुनौती, अवसर र सुधारका योजनासहित आफ्नो कार्ययोजना पेश गर्नुपर्नेछ। निर्धारित योग्यता र उमेरसीमा पूरा गरेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले सहकारी क्षेत्रको पारदर्शिता, सुशासन र प्रभावकारी नियमनका लागि सक्षम तथा अनुभवी नेतृत्व चयन गर्न आवेदन दिन अनुरोध गरेको छ ।

