राजविराज, बैशाख २६ गते ।
सप्तरीको राजविराज स्थित तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। साँझ करिब ७ बजे सुरु भएको आगो छिट्टै फैलिँदा विभिन्न परिवारका घरगोठमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
आगलागीबाट रामअवतार यादवका २ घर र १ गोठ, जुगाई यादवका २ घर र १ गोठ, अनिल यादवका २ घर र १ गोठ, योगिन्द्र यादवको १ घर, राजकुमार यादवको १ घर तथा धिरेन्द्र यादवको १ घर जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट बारुणयन्त्रसहित टोली परिचालन गरिएको थियो। स्थानीयबासी र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

