गाैशाला, बैशाख २६ गते ।
धनुषाको मिथिला नगरपालिकामा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिकै काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।
प्रहरीका अनुसार अर्को सवारीलाई उछिन्ने क्रममा बस नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त बसमा ३३ जना यात्रु सवार रहेका थिए ।
घाइते सबैलाई तत्काल उद्धार गरी लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

