गाैशाला, बैशाख २८ गते ।
मधेस प्रदेशमा स्वास्थ्य, सामाजिक तथा जनसरोकारका विषयलाई निरन्तर समाचार मार्फत उजागर गर्दै आएकी धनुषाकी पत्रकार चाँदनी झा र बाराकी पत्रकार शारदा पोखरेललाई “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” प्रदान गरिएको छ ।
स्वर्गीय रामा यादवको पाँचौँ पुण्यतिथिको अवसरमा सोमबार रौतहटमा आयोजित विशेष कार्यक्रममा दुबै पत्रकारलाई जनही नगद रु २६ हजार १, कदरपत्र तथा दोसल्ला प्रदान गरी सम्मान गरिएको हो । रामा यादव स्मृति प्रतिष्ठान रौतहटका अध्यक्ष अनु यादवका अनुसार समाजमा सकारात्मक परिवर्तनका लागि पत्रकारिता मार्फत पुर्याएको योगदानको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको हो ।
लामो समयदेखि प्राइम टेलिभिजन तथा टिभी टुडे जनकपुरसँग आबद्ध पत्रकार चाँदनी झाले स्वास्थ्य पत्रकारितामा विशेष पहिचान बनाउनुभएको छ । उहाँले सरकारी अस्पतालको अवस्था, बिरामीका समस्या, ग्रामीण स्वास्थ्य पहुँच तथा स्वास्थ्य क्षेत्रका विकृति र सुधारका पक्षमा निरन्तर समाचार सम्प्रेषण गर्दै आउनुभएको छ ।
त्यसैगरी पत्रकार शारदा पोखरेलले पनि सामाजिक मुद्दा, महिला अधिकार र जनसरोकारका विषयमा सक्रिय पत्रकारिता गर्दै उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ ।
पत्रकारिता मार्फत समाज रूपान्तरण, जनचेतना अभिवृद्धि तथा सत्यतथ्य सूचना सम्प्रेषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दुबै पत्रकारप्रति हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना ।

