कैलाली, बैेशाख ३० गते ।
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी देउराली टोलस्थित कर्णाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार आज साँझ करिब ५:३० बजे स्थानीयवासीले नदी किनारमा शव देखिएको जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार मृतक अन्दाजी ५५/५६ वर्ष उमेरका पुरुष हुन्। उनले सेतो रंगको दौरा–सुरुवाल लगाएका थिए भने दाहिने हातमा ६ वटा औँला रहेको विशेष चिन्ह फेला परेको छ ।
घटनास्थलभन्दा करिब ३०० मिटर माथि नदीको बगरमा खैरो रंगको चप्पल, टोपी, कालो–सेतो हाफ कोट, औषधि, रुमाल, सलाई तथा नगद रु. २४५ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको आवश्यक प्रक्रिया पूरा गरी शवलाई टीकापुर अस्पतालको शवगृहमा राखेको छ । हालसम्म मृतकको पहिचान खुल्न नसकेको भन्दै फोटो वा विवरणबाट चिन्न सक्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय चिसापानीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

