बिरगंज, बैशाख ३१ गते ।
निर्माण सामग्रीको चर्को मूल्यवृद्धि, महँगी र सरकारी स्तरबाट समयमै मूल्य समायोजन नभएको भन्दै नेपाल निर्माण व्यवसायी संघ पर्साले सरकारलाई तत्काल हस्तक्षेप गर्न माग गरेको छ ।
देशव्यापी आन्दोलनअन्तर्गत पर्साका निर्माण व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थ, डण्डी, सिमेन्ट, बिटुमिन लगायत सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन् ।
व्यवसायीहरूका अनुसार निर्माण लागत अत्यधिक बढ्दा पुरानै दररेटमा काम गर्नुपर्दा ठूलो आर्थिक भार परेको छ। बैंक ब्याजदर, मजदुर खर्च तथा उपकरण सञ्चालन खर्चले व्यवसाय धान्न कठिन बनेको उनीहरूको भनाइ छ ।
संघले सार्वजनिक खरिद नियमावलीअनुसार मूल्य समायोजनको व्यवस्था व्यवहारमा लागू गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।
माग बेवास्ता गरिए जिल्लाभरका निर्माण कार्य बन्द गर्न बाध्य हुने चेतावनी व्यवसायीहरूले दिएका छन् ।

