जनकपुरधाम, जेष्ठ १ गते ।
पत्रकार देवकुमार यादवसहित विभिन्न पदाधिकारी र सर्वसाधारणमाथि भ्रामक आरोप लगाउँदै भिडियो सामग्रीमार्फत चरित्र हत्या गर्न खोजिएको घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा आफूलाई पत्रकार बताउने मनोज मानव भनिने मनोज कुमार महतोले एकपक्षीय, अपुष्ट तथा अमर्यादित सामग्री प्रसारण गरी व्यक्तिको सामाजिक प्रतिष्ठा, निजी जीवन, पारिवारिक सम्बन्ध तथा पेशागत मर्यादामाथि प्रहार गरेको उल्लेख गरिएको छ ।
महासंघका अनुसार पत्रकार देवकुमार यादवको नाम जोडेर यौनजन्य आरोपसहित भिडियो सामग्री सार्वजनिक गर्नु पत्रकारिताको मर्यादाविपरीत, गैरजिम्मेवार र निन्दनीय कार्य हो ।
विज्ञप्तिमा यस्ता गतिविधिलाई सामाजिक अपराध तथा कानुनी शासनमाथिको चुनौतीका रूपमा व्याख्या गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिको चरित्र हत्या गर्ने प्रवृत्तिलाई कदापि स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

