सर्लाही, जेष्ठ १ गते
सर्लाही जिल्ला को हरिपुर नगरपालिका–५ स्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ भएको दुर्घटनामा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ६ बजेतिर इट्टा निकाल्ने क्रममा अचानक इट्टाको चयाङ भत्किँदा त्यहाँ काम गरिरहेका मजदुरहरू इट्टा र माटोले पुरिएका थिए। स्थानीयवासीले खबर गरेपछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो ।
उद्धारपछि सबैलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा फिताई मंसुर, शम्भु राउत तथा भारतको लखेमपुर निवासी अंगद कुमार लाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते भएका तुलसी महतो र सत्यनारायण महतो को उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवैको अवस्था सामान्य छ । घटनापछि जेसीबी प्रयोग गरेर थप खोज तथा पन्छाउने काम जारी रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

