जलेश्वर, जेष्ठ २ गते ।
महोत्तरीमा सिमा सुरक्षामा खटिएका सरोकारवाला प्रहरीलाई लाईन मिलाएर संगठितरुपमै तस्करी हुने गरेको पछिल्लो केहि घटनाले छर्लङ भएको छ ।
महोत्तरीको विभिन्न नाकामा सिमासुरक्षार्थ खटिएको प्रहरीले महोत्तरीका नाकाभएर तस्करीका सामान सहजै लाइन मिलाएर जान दिने र भारतीय एसएसवीले ती सामानहरु वरामद गरेको दर्जन भन्दा बढी घटनाले सिमा सुरर्क्षाथ खटिएको सुरक्षाकर्मीको चरित्र छर्लग पारेको छ ।
दुई साता मात्रको तथ्यांक हेर्ने हो भने भारतीय एसएसवीले महोत्तीको विभिन्न नाका भएर पारि छिरेको सामान वरामद भएको घटनाले यस्को पुष्टि हुन्छ ।
नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षा निकायको भूमिका माथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
पछिल्ला केही साता यता भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले महोत्तरीसँग जोडिएका विभिन्न सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा गाँजा, मदिरा, स्याउ तथा अन्य अवैध सामान बरामद गरेपछि नेपाली पक्षको सीमा सुरक्षा प्रणालीमाथि नै प्रश्न चिन्ह खडा भएको हो ।
भारतीय सुरक्षाकर्मीले एकपछि अर्को गर्दै तस्करीका सामान नियन्त्रणमा लिइरहँदा नेपाली सुरक्षा निकाय भने मौन देखिएको भन्दै स्थानीयवासी, बुद्धिजीवी तथा सीमा सरोकारवालाले “लाईन मिलाएर संगठित रूपमा तस्करी भइरहेको” आशंका व्यक्त गर्न थालेका छन् ।
शनिबार मात्र भारतीय एससएसवीले सिर्सिया डिमाही पिलर नं. ३१० बाट स्याउ लोड गरिएको पिकअप पक्राउ गरेको छन भने बिहिबारका दिन सितामढी जिल्लाको सुरसण्डबाट १४२ किलो लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो ।
यसैगरि शुक्रबार दिन विहारमा प्रतिबन्धित ४४.७ लिटर मदिरा सिमा स्तम्भ ३०४/१ बाट एक जना पक्राउ, भारतीय एससवीको ५१ औ बटालियनद्वारा शुक्रबार भिटामोडबाट मोटरसाईकलमा लगि रहेको भारि मात्रमा मदिरा बरामद, बैशाख २५ गतेका दिन १७८ वोतल नेपाली मदिरा बरामद , बैशाख २२ गते पिलर संख्या ३०७ बाट ७२० वोतल नेपाली मदिरा बरामद, बैशाख २२ गतेका दिन ३ किलो चरेस सहित २ मोटरसाईकल र दुइ व्यक्ति पक्राउ, बैशाख २१ गतेकै दिन ७८० लिटर मदिरा पक्राउ लगायतका दर्जनौ घटनामा वरामद भएको तस्करीका सामग्री महोत्तरीकै सिमा भएर भारत छिरेको भारतीय अनलाई न्युज पोर्टलहरुमा उल्लेख रहेको छ ।
स्थानीय बुद्धिजीवीहरू प्रश्न गर्छन— “भारतीय एसएसबीले समातेका सामान आकाशबाट उडेर भारत पुगेका होइनन्, महोत्तरीकै सडक प्रयोग गरेर सीमासम्म पुगेका हुन् ।”
उनीहरूका अनुसार सीमामा चौबीसै घण्टा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको उपस्थिति रहने क्षेत्रबाट पटक–पटक यति ठूलो परिमाणमा अवैध सामान पार हुनु सामान्य घटना हुनै सक्दैन ।
स्थानीयवासीको आरोप छ— “लाईन मिलाएका” तस्करका सामान सहजै सीमा पार गराइन्छ, तर सामान्य व्यापारी र सर्वसाधारण भने अनावश्यक दुःख पाउने गरेका छन् ।
भारतीय एसएसवीले महोत्तरीकै सिमाको सडक भएर गएका तस्करीका सामान पटक पटक पक्रीनु र नेपाली सिमासुरक्षामा खटिएका प्रहरीले देखेर पनि नदेखे झै गर्नुले लाईन मिलाएर तस्करी हुने गरेको प्रमाणित हुन्छ ।
भारतीय एसएसवीले पक्राउ गरेको गाँजा लोड गरि सवारी मुल नाका भएरै पारि छिर्ने गरेको भारतीय एसएसवीहरु बताउँछन ।
भारतीय एसएसवीले पक्राउ गरेका समानहरु उडेर होइन महोत्तरीकै सडक भएर गुडेर नै गएको स्थानिय वुद्धजिवीहरुको भनाई रहेको छ । तर लाईन (लेनदेन गरेका)मिलाएका तस्करीका सामन सहजै सिमा कटने र लाईन नमिलाएका वैद्य व्यपारिलाई दुःख दिने गरेको पछिल्लो केहि घटनाले प्रस्ट हुन्छ ।
सीमामा खटिएका सुरक्षा निकाय पूर्ण रूपमा असफल भएका हुन् वा आर्थिक लेनदेनपछि संगठित रूपमा तस्करीलाई संरक्षण दिइएको हो भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेको छ ।
विशेषगरी गाँजा, मदिरा र अन्य प्रतिबन्धित सामान मुख्य नाकाबाटै भारत प्रवेश गरिरहेको भारतीय सुरक्षाकर्मीहरूको दाबीले नेपाली सुरक्षा संयन्त्रमाथि थप दबाब सिर्जना गरेको छ ।
सीमा विषयका जानकारहरू महोत्तरीको सीमा क्षेत्र अहिले “संगठित तस्करीको ट्रान्जिट करिडोर” बन्दै गएको बताउँछन् । उनीहरूका अनुसार सीमामा हुने अवैध कारोबारले राज्यको राजस्वमात्र होइन, सुरक्षा प्रणालीकै विश्वसनीयतामाथि गम्भीर असर पुर्या इरहेको छ ।
सिमा सम्बन्धि जानकारहरुले महोत्तरीको सिमा भएर हुने तस्करीले सिमानै नाघि सकेको तर्क गर्नु हुन्छ । लगातार सार्वजनिक भइरहेका घटनापछि सीमामा खटिएका प्रहरी तथा सशस्त्र प्रहरीको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग स्थानिय स्तरमा उठ्न थालेको छ ।
स्थानीय सरोकारवालाहरू भन्छन्, “यदि नेपाली सुरक्षा निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निभाएको भए भारतीय पक्षले यति धेरै सामान समात्ने अवस्था नै आउने थिएन ।”
महोत्तरीको सीमा क्षेत्र अहिले सुरक्षा संवेदनशीलताभन्दा बढी ‘सेटिङ र तस्करीको रुट’ का रूपमा चिनिन थालेको भन्दै स्थानीयले तत्काल कडा निगरानी र कारबाहीको माग गरेका छन् ।

