गाैशाला, जेष्ठ ३ गते ।
आजदेखि मलमास अर्थात् अधिकमास सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। करिब प्रत्येक ३२ महिना १६ दिनमा पर्ने अधिकमासलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेरिन्छ ।
ज्योतिषीय मान्यताअनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म सूर्य सङ्क्रान्ति नपरेको महिनालाई अधिकमास वा मलमास भनिन्छ। यसलाई पुरुषोत्तम मासका रूपमा पनि चिनिन्छ, किनकि धार्मिक ग्रन्थअनुसार भगवान् विष्णुले यस महिनालाई आफ्नो नाम प्रदान गरेको विश्वास छ ।
धर्मशास्त्रविद्हरूका अनुसार यस अवधिमा नित्य पूजा, जप, ध्यान, दान तथा नियमित व्रत गर्न उपयुक्त मानिन्छ। तर विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माण, शुभ साइत तथा अन्य माङ्गलिक कार्य भने गर्न नहुने परम्परा रहेको छ। नयाँ व्रत आरम्भ गर्नसमेत निषेध गरिएको छ ।
मलमासलाई आत्मशुद्धि, धार्मिक साधना तथा आध्यात्मिक उन्नतिको समयका रूपमा लिइन्छ। यस अवधिमा विशेष गरी विष्णु पूजा, भागवत श्रवण, दानपुण्य र सत्कर्म गर्न धार्मिक विद्वान्हरूले सुझाव दिएका छन् ।
धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मलमासले मानिसलाई भौतिकभन्दा आध्यात्मिक जीवनतर्फ केन्द्रित गराउने विश्वास गरिएको छ ।

