गौशाला, जेष्ठ ५ गते ।
महोत्तरीस्थित कान्तिबजार तरकारी बजारमा कृषि विषय अध्ययनरत विद्यार्थीहरूले कृषकलाई लक्षित गर्दै “मोहनी पासोले किरा व्यवस्थापनमा पुर्याउने फाइदा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा विद्यार्थीद्वारा मोहनी पासो (Lure Trap) को प्रयोग, यसको महत्व तथा वातावरणमैत्री तरिकाबाट बालीमा लाग्ने हानिकारक किराको नियन्त्रण गर्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।
विद्यार्थीहरूले मोहनी पासो प्रयोग गर्दा विषादीको प्रयोग कम हुने, उत्पादन लागत घट्ने, उपयोगी किराहरू सुरक्षित रहने तथा बालीको उत्पादन र गुणस्तरमा वृद्धि हुने विषयमा कृषकलाई जानकारी गराएका थिए । साथै टमाटर, करेला, बन्दागोभी, मकै लगायतका तरकारी बालीमा यसको प्रभावकारी प्रयोगबारे व्यवहारिक प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रमप्रति कृषकहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले सुरक्षित र आधुनिक कृषि प्रविधिबारे उपयोगी जानकारी प्राप्त भएको बताएका थिए । विद्यार्थीहरूले आगामी दिनमा पनि कृषकलाई आधुनिक तथा सुरक्षित कृषि प्रविधिप्रति सचेत गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।


