काठमाडौं, जेष्ठ ५ गते ।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह ले सरकारले प्रस्तुत गरेको बजेटको प्राथमिकतामा मधेशलाई स्थान नदिएको आरोप लगाएका छन् । संसद्मा बजेट विनियोजनमाथिको छलफलमा भाग लिँदै उनले मधेशसँग जोडिएको हुलाकी राजमार्ग को नामसमेत बजेटमा उल्लेख नगरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले बजेटमाथिको छलफल भइरहँदा अर्थमन्त्री उपस्थित नभएको विषयलाई पनि गम्भीर रूपमा उठाउँदै यसले संसदीय परम्परा र अभ्यासमाथि आघात पुगेको बताए । सिंहले “नयाँ अभ्यास” का नाममा स्थापित संसदीय प्रणाली कमजोर पार्न खोजिएको टिप्पणी गरे ।
उनका अनुसार राणाकालदेखि निर्माण प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग अझै अधुरै छ । कतै पुल निर्माण भएर सडक नबनेको र कतै सडक भएर पुल नजोडिएको अवस्थाले मधेशप्रतिको राज्यको प्राथमिकता स्पष्ट देखिएको उनले बताए ।
अमरेशकुमार सिंह ले मधेशको मानव विकास सूचकांक कमजोर अवस्थामा रहेकाले बजेटमा विशेष कार्यक्रम र योजनाको अपेक्षा गरिएको भए पनि त्यसअनुसार सम्बोधन नभएको धारणा राखे । सरकार निर्माणमा मधेशको निर्णायक भूमिका रहे पनि बजेटमा त्यसको प्रभाव नदेखिएको उनको भनाइ थियो ।
सिंहले विकास योजनामा सन्तुलन कायम गर्न र मधेशका दीर्घकालीन पूर्वाधार तथा सामाजिक समस्यालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।

