गाैशाला, जेष्ठ ८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको बर्दिबासस्थित टोलीले उनलाई ७२ हजार रुपैयाँसहित शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारका अनुसार सडक ढलान योजनाको भुक्तानी निकासा गरिदिने प्रक्रियामा सेवाग्राहीसँग अवैध रकम मागिएको भन्ने सूचनापछि निगरानी बढाइएको थियो । सोही क्रममा घुस लेनदेन भइरहेको अवस्थामा यादवलाई रंगेहात पक्राउ गरिएको हो ।
सोनमा गाउँपालिका–२ अन्तर्गत निर्माण गरिएको सडक ढलान योजनासम्बन्धी रकम निकासाका लागि उपभोक्ता समितिसँग रकम मागिएको खुलेको आयोगले जनाएको छ ।
घटनापछि स्थानीय तहमा हुने विकास निर्माण योजनाको पारदर्शिता र आर्थिक अनुशासनबारे पुनः प्रश्न उठेको छ । आयोगले भ्रष्टाचारविरुद्धको निगरानी र कार्वाहीलाई निरन्तरता दिने जनाएको छ ।

