पाँचथर, जेष्ठ १० गते
अविरल वर्षापछि आएको बाढीपहिरोले पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा व्यापक क्षति पुर्याएको छ । पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् भने एक परिवारलाई जोखिमका कारण सुरक्षित स्थानमा सारिएको छ ।
याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास र कोप्चेका गङ्गाप्रसाद बेघाको घर पहिरोले बगाएको छ। उनीहरूका परिवार हाल आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। त्यस्तै भगीमान बेघाको घर उच्च जोखिममा परेपछि उनको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
बाढीपहिरोका कारण याङवरकका विभिन्न बस्तीका दर्जनौं घर जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगरानी बढाइएको छ । बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएपछि उक्त क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक, डाइभर्सन तथा पुल संरचना बगेपछि आवागमनमा ठूलो समस्या उत्पन्न भएको छ ।
त्यसैगरी तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलमा पनि बाढीले क्षति पुर्याएको छ। पुल निर्माणका लागि प्रयोग गरिएका ३५० टन स्टिल ट्रस्टसहित विभिन्न निर्माण सामग्री नदीले बगाएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम बजार–रिजाल भिर खण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जलविद्युत् आयोजनामा असर
बाढी र पहिरोले मेवाखोलास्थित हरिहृदय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। साथै पाँचथर–ताप्लेजुङ सीमामा रहेका इँवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल तथा अरुण काबेली जलविद्युत् आयोजनाका संरचनामा पनि क्षति पुगेको बताइएको छ ।
याङवरक–४ सिगेवामा स्थानीय किसानहरूको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पस्दा कृषि क्षेत्रमा समेत नोक्सानी भएको छ। साथै विभिन्न खानेपानी, सिँचाइ तथा ग्रामीण पूर्वाधार आयोजनाहरूमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । प्रशासनले प्रभावित क्षेत्रको क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ ।

