सर्लाही, जेष्ठ १० गते ।
सर्लाहीको लालबन्दी नगरपालिकास्थित बागमती नदीमा डुबेर दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो रहेका छन् । उनीहरू शनिबार साथीहरूसँग घुम्न गएका बेला नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार साँझ करिब ४ बजे रौतहट र सिन्धुलीको सीमाक्षेत्रमा पर्ने झपसी झोलुङ्गे पुलमुनि बागमती नदीमा पाँच जना साथीहरू घुम्न गएका थिए। सोही क्रममा रोहित र गणेश नदीको तीव्र बहावमा परी बेपत्ता भएका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। खोजीका क्रममा आइतबार बिहान करिब १०:१५ बजे रोहितको शव बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ५० मिटर उत्तरतर्फ फेला परेको थियो। त्यसैगरी दिउँसो करिब २ बजे गणेशको शव बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ ड्यामसाइट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ ।
दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । उनीहरूसँगै गएका अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ भने प्रहरीले नदी तथा जलाशयमा प्रवेश गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

