बिर्तामोड, जेष्ठ १० गते ।
११ दिनदेखि रोकिएको बिर्तामोड नगरपालिकाको फोहोर संकलन कार्य आइतबारबाट पुनः सुरु भएको छ। डम्पिङ साइट व्यवस्थापनसम्बन्धी विवादका कारण नगर क्षेत्रमा फोहोर संकलन अवरुद्ध हुँदा सडक तथा घरआँगनमा फोहोर थुप्रिएर समस्या उत्पन्न भएको थियो ।
फोहोर संकलनको जिम्मेवारी पाएको निराकार सरसफाइ प्रालिका अनुसार डम्पिङ साइटको विवादका कारण संकलित फोहोरसमेत व्यवस्थापन गर्न नसकिएको र केही फोहोर बोकेका सवारीसाधनमै थन्किएको अवस्था थियो ।
बिर्तामोड नगरपालिकाले सम्बन्धित पक्षसँग छलफल गरी विवाद समाधान गरेपछि आइतबारदेखि सडकमा थुप्रिएको फोहोर उठाउन थालिएको हो। घर–घरबाट फोहोर संकलन कार्य भने सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।
हाल बिर्तामोड–६ बुट्टाबारी पूर्व क्षेत्रमा रहेको व्यवस्थापन केन्द्रमार्फत नगरको फोहोर व्यवस्थापन हुँदै आएको छ। यसअघि बिर्तामोड–६ को मसले टोल क्षेत्रमा फोहोर व्यवस्थापन गरिँदै आएकोमा स्थानीयवासीले वैकल्पिक व्यवस्थापनको माग गर्दै फोहोर बोकेका गाडी रोक्दा समस्या उत्पन्न भएको थियो ।
यसबीच, फोहोर संकलन तथा व्यवस्थापनमा संलग्न कम्पनीको इजाजतपत्र नवीकरणको विषयमा नगरभित्रका जनप्रतिनिधिबीच मतभेद देखिएको छ। अधिकांश जनप्रतिनिधिले हालको व्यवस्थापन प्रणालीलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् भने दीर्घकालीन समाधानका लागि उपयुक्त डम्पिङ साइट व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
फोहोर संकलन पुनः सुरु भएसँगै नगरवासीले राहत महसुस गरेका छन्। नगरपालिकाले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दिगो फोहोर व्यवस्थापन योजनामा जोड दिने जनाएको छ ।

