काठमाडौं, जेष्ठ १० गते ।
शनिबार राति आएको शक्तिशाली हावाहुरीका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिकामा ४५ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आइतबार प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रारम्भिक विवरण अनुसार ४५ घरमा क्षति पुगेको जानकारी दिएका छन्। उनका अनुसार केही घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य घरहरूमा आंशिक क्षति भएको छ ।
हावाहुरीका कारण अमलेखगञ्ज–चकरी सडक खण्डमा रुख ढलेपछि यातायात अवरुद्ध भएको थियो। आइतबार नगर प्रहरीको सहयोगमा रुख पन्छाएर सडक सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिका जोड्ने चकरी–डम्बरपुर खण्डमा पनि रुख ढलेकाले सडक अझै पूर्ण रूपमा बन्द रहेको छ। स्थानीयका अनुसार कतिपय रुख जरैदेखि उखेलिएर ढलेका कारण क्षेत्रभर ठूलो क्षति भएको छ ।
नगर प्रमुख पौडेलले हावाहुरीको तीब्रता अत्यधिक रहेको र टोर्नाडो जस्तो प्रभाव देखिएको बताएका छन्। उनका अनुसार बस्तीका साथै वन क्षेत्रमा पनि ठूलो मात्रामा रुख ढलेका छन् ।
शनिबारदेखि नै त्यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। डिभिजन वन कार्यालय बाराका अनुसार वन क्षेत्रमा पनि ठूलो संख्यामा रुखहरू ढलेका छन् ।
उपमहानगरपालिकाले हाल क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ। प्रभावित वडाहरूले पनि क्षति विवरण संकलन गरी नगरपालिकामा पठाउने तयारी गरेका छन् । स्थानीय र जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन् ।

