काठमाडौँ, जेष्ठ २० गते ।
देशभरको मौसममा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमसहित कोशी र बागमती प्रदेशका उच्च भूभागमा अहिले बादल लागेको अवस्था छ। लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ ।
दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
यता, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिनको अनुभूति हुने मौसमविद्हरूले बताएका छन् ।
रातिको समयमा अधिकांश तराई क्षेत्रमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

