गौशाला, जेष्ठ २१ गते ।
विगत केही दिनदेखि लगातार बढिरहेको अत्यधिक गर्मीका कारण महोत्तरीको गौशाला नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू ४ दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ ।
गौशाला नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
लगातारको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने जोखिम देखिएकाले यो कदम चालिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र हितलाई मध्यनजर गर्दै नगरपालिकाको जेष्ठ २१ गतेको निर्णय अनुसार नगर भित्र सञ्चालित सबै सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरूको पठनपाठन जेष्ठ २२ गते शुक्रबारदेखि जेष्ठ २५ गते सोमबारसम्मका लागि पूर्ण रूपमा बन्द रहनेछ ।
गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनामा विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको उल्लेख छ ।

