डोटी, जेष्ठ २१ गते ।
डोटी र कैलालीको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएको छ ।
आज डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना धिमिरे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सागर बोहरा तथा सशस्त्र प्रहरी बलका उपरीक्षक शिवप्रसाद गैह्रे सहितको संयुक्त टोलीले डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाको सीमास्थित फल्टुडे क्षेत्रमा स्थलगत निरीक्षण तथा अनुगमन गरेको हो ।
संयुक्त इलाका प्रहरी कार्यालय फल्टुडे, स्थानीय जनप्रतिनिधि, व्यापारी तथा सरोकारवालाको उपस्थितिमा गरिएको अनुगमनका क्रममा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। साथै, लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीति तथा आवश्यक उपायबारे समेत छलफल गरिएको बताइएको छ ।
निरीक्षणका क्रममा सीमाबाट आवतजावत गर्ने विभिन्न सवारी साधनहरूमा कडाइका साथ चेकजाँच गरिएको थियो। सुरक्षा निकायले संदिग्ध गतिविधिमाथि निगरानी बढाउँदै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ ।
प्रशासन तथा सुरक्षा निकायका अनुसार लागूऔषध कारोबार, ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा नियमित अनुगमन र निगरानीलाई थप प्रभावकारी बनाइनेछ। स्थानीयवासीसँगको सहकार्यमा सुरक्षा व्यवस्थापनलाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।


