काठमाडौं, जेष्ठ २१ गते ।
काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक विस्तार तथा स्तरोन्नति भएपछि स्थानीय बासिन्दा र यात्रुहरूको आवतजावत सहज भएको छ ।
यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर सडक अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म पूर्ण रूपमा पक्की तथा कालोपत्रे गरिएको छ। करिडोर विस्तारसँगै यस क्षेत्रको सडक सञ्जाल थप व्यवस्थित बनेको छ ।
कालिमाटी पुलको दायाँपट्टि रहेका अनाधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो। केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको क्षेत्र अहिले खुला, फराकिलो र व्यवस्थित देखिएको छ ।
सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्तीहरू खाली गराई संरचनाहरू हटाएको थियो। त्यसपछि करिडोर विस्तारको कार्यलाई तीव्रता दिइएको थियो।
नवनिर्मित सडक सञ्चालनमा आएपछि चालकहरूले कालिमाटी चोकको सवारी चापबाट बच्दै करिडोरमार्फत सिधै कुलेश्वर र बल्खुसम्म यात्रा गर्न सक्ने भएका छन्। यसले विशेषगरी भीममुक्तेश्वर क्षेत्रका स्थानीयवासीलाई सहज आवतजावतको सुविधा उपलब्ध गराएको छ ।
स्थानीयका अनुसार करिडोर सडकले बागमती नदीको पुल हुँदै ललितपुरतर्फ आवतजावत गर्ने यात्रुहरूलाई समेत ठूलो राहत दिएको छ। करिडोर विस्तारसँगै यस क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउनुका साथै दैनिक ट्राफिक जाम न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

