गाैशाला, जेष्ठ २२ गते ।
कृषि सिँचाइका लागि आवश्यक विद्युत् सेवा प्रभावकारी हुन नसकेको भन्दै महोत्तरीको गौशालामा किसान तथा स्थानीय सेवाग्राहीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको ध्यानाकर्षण गराएका छन् । कम भोल्टेज, सिँचाइ ट्रान्सफर्मरको अभाव र विद्युत् आपूर्तिमा देखिएका समस्याका कारण खेतीपाती प्रभावित भएको जनाउँदै उनीहरूले शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् ।
स्थानीय किसानहरूको टोलीले वितरण केन्द्रका प्रमुख उपप्रबन्धक उमेश प्रसाद यादव समक्ष ज्ञापनपत्र पेश गर्दै कृषि उत्पादनको महत्वपूर्ण समयमा पर्याप्त विद्युत् नपाउँदा सिँचाइ कार्य नै प्रभावित भएको गुनासो गरेका छन् । उनीहरूका अनुसार खेतमा जडान गरिएका स्यालो ट्युबवेल तथा बोरिङहरू न्यून भोल्टेजका कारण नियमित रूपमा सञ्चालन हुन सकेका छैनन् ।
किसानहरूले जडान गरिएका ट्रान्सफर्मरहरूको सुरक्षा व्यवस्था कमजोर हुँदा चोरीका घटनासमेत बढ्दै गएको उल्लेख गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन माग गरेका छन्। उनीहरूले विद्युत् पूर्वाधार विस्तार, आवश्यक स्थानमा नयाँ सिँचाइ ट्रान्सफर्मर जडान तथा कम भोल्टेजको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै वितरण केन्द्र प्रमुख यादवले सेवाग्राहीका समस्या र गुनासाप्रति प्राधिकरण गम्भीर रहेको प्रतिक्रिया दिएका छन् । मागको चाप उच्च भए पनि उपलब्ध स्रोत–साधन र प्राथमिकताका आधारमा समस्याहरू क्रमशः समाधान गरिने उनले बताए ।
यता, सम्सी गाउँपालिका–२ को पर्सा देवाड क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासीले केही समय सम्सी–गौशाला सडकखण्ड अवरुद्ध गरेका थिए। विद्युत् लाइनमा आएको खराबी समयमै मर्मत नगरिएको भन्दै उनीहरूले विरोध जनाएका थिए ।
स्थानीयको दबाबपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरी बिग्रिएको लाइन मर्मत तथा नयाँ तार जडानको काम थालेको थियो। मर्मत कार्य सुरु भएपछि सडक अवरोध हटाइएको स्थानीयले बताएका छन् ।
अत्यधिक गर्मीका बेला पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुँदा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू बढी प्रभावित हुने गरेको स्थानीयवासीको भनाइ छ। उनीहरूले नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
महोत्तरी सहित मधेश प्रदेशका विभिन्न जिल्लामा हाल कम भोल्टेज र अनियमित विद्युत् आपूर्तिका कारण कृषि सिँचाइदेखि दैनिक जनजीवनसम्म प्रभावित बन्दै गएको छ। यस्तो अवस्थामा विद्युत् पूर्वाधारको स्तरोन्नति तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीयवासी र किसानहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

