दाङ, जेष्ठ २२ गते ।
दाङको राप्ती गाउँपालिका–१ भालुबाङ बजार क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमनका क्रममा ३१ केजी अस्वस्थ्यकर तथा सडेगलेको मासु जफत गरी नष्ट गरिएको छ ।
शुक्रबार राप्ती गाउँपालिकाको अनुगमन टोली, इलाका प्रहरी कार्यालय भालुबाङ तथा लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित संयुक्त टोलीले बजार क्षेत्रका ११ वटा मासु पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा केही पसलमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अवस्थामा राखिएको कुखुरा तथा खसीबोकाको मासु फेला परेको टोलीले जनाएको छ । गुणस्तरहीन तथा उपभोगका लागि अयोग्य ठहरिएको करिब ३१ केजी मासु तत्काल जफत गरिएको थियो ।
जफत गरिएको मासु जनप्रतिनिधि, सम्बन्धित कर्मचारी तथा प्रहरीको रोहवरमा सुरक्षित रूपमा खाल्डो खनेर नष्ट गरिएको बताइएको छ ।
अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न, सफा र स्वास्थ्यकर वातावरणमा मासु बिक्री वितरण गर्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न निर्देशन दिएको छ ।
उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता बजार अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी र नियमित बनाइने सम्बन्धित निकायले जनाएको छ ।

