जलेश्वर, जेष्ठ २३ गते ।
सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सशस्त्र प्रहरी बलले महोत्तरीको सम्सी क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २५औँ वार्षिकोत्सवको अवसरमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत आयोजित शिविरमा विभिन्न रोगका बिरामीलाई निःशुल्क परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको आयोजनामा सम्सी गाउँपालिका–७ स्थित श्री जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा एपिएफ अस्पताल बलम्बु र जानकी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल जनकपुरधामका विशेषज्ञ चिकित्सक सहभागी भएका थिए ।
शिविरमा हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग, दन्तरोग, चर्मरोग तथा जनरल मेडिसिनसम्बन्धी सेवा उपलब्ध गराइएको थियो। उपचारका लागि आएका स्थानीयवासीले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन पाएकोमा सन्तुष्टि व्यक्त गरेका थिए ।
सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीले सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै अपेक्षाभन्दा धेरै नागरिकले सेवा लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल ले दुर्गम तथा सीमावर्ती क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसी ले महिलाहरूमा स्वास्थ्य समस्या लुकाएर बस्ने प्रवृत्ति अझै रहेकाले उनीहरूलाई लक्षित गर्दै स्वास्थ्य सचेतना र उपचार सेवा प्रदान गर्न यस्ता शिविर सञ्चालन गरिएको बताउनुभयो ।
सुरक्षा पोशाकमा मात्र देखिने सशस्त्र प्रहरी स्वास्थ्य सेवा लिएर गाउँमै पुगेपछि स्थानीयले यसलाई सकारात्मक पहलका रूपमा लिएका छन्। सहभागीहरूले यस्ता सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।


