पाेखरा, जेष्ठ २३ गते ।
पोखराको पृथ्वीचोकस्थित बहुप्रतिक्षित बसपार्क निर्माणको अभियानले नयाँ मोड लिएको छ । दशकौँदेखि बसोबास गर्दै आएका सुकुमवासीहरू महानगरपालिकाले दिएको समयसीमा सकिनुअघि नै आफ्ना घरटहरा आफैँ भत्काउन थालेका छन् ।
शनिबार दिउँसोसम्म बसपार्क क्षेत्रका ५० भन्दा बढी परिवारले आफ्नो टहरा हटाइसकेका छन्। आइतबारसम्म घरटहरा खाली गरिसक्न महानगरपालिकाले आग्रह गरेपछि स्थानीयहरू स्वेच्छाले संरचना हटाउन थालेका हुन् ।
पाँच दशकअघि बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अधिकांश भाग अतिक्रमण र बसोबासका कारण प्रयोगविहीन बनेको छ। हाल करिब २६ रोपनी क्षेत्र मात्र खाली रहेको बताइन्छ। बसपार्कको नाममा अधिग्रहण गरिएको जग्गामा अहिले ५ सय ७५ भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन् ।
सुकुमवासी व्यवस्थापनलाई प्राथमिकता दिँदै पोखरा महानगरपालिकाले वैकल्पिक जग्गा खोज्न विशेष समिति गठन गरेको थियो। समितिले हालै बुझाएको प्रतिवेदनमा महानगरभित्रका विभिन्न स्थानमा पुनर्स्थापनाको सम्भावना औँल्याएको छ। त्यसअनुसार रामघाट, बाच्छेबुडुवा, भेडीफार्म, मजुवा, दोबिल्ला तथा हेमजा क्षेत्रका जग्गा उपयोग गर्न सकिने सुझाव दिइएको छ ।
महानगरले बसपार्क क्षेत्र र फिर्के करिडोर आसपासका करिब ६ सय परिवारको व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई पुनर्स्थापना गर्ने तयारी भइरहेका बेला अव्यवस्थित बसोबासीलाई भने हटाइने नीति लिइएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नागरिकको अधिकार र सार्वजनिक सम्पत्तिको संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुनर्स्थापनाको काम अन्तिम चरणमा पुगेको बताएका छन्। उनले आवश्यक पूर्वाधार र सेवासुविधासहितको नयाँ बस्ती निर्माणको तयारी भइरहेको जानकारी दिँदै सम्बन्धित परिवारलाई केही समयका लागि आफ्नो व्यवस्थापन मिलाउन आग्रह गरेका छन् ।
२०३२ सालमा सुरु भएको बसपार्क निर्माणको योजना विभिन्न कारणले लामो समयदेखि अलपत्र पर्दै आएको थियो। पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग जोडिने रणनीतिक स्थानमा रहेको बसपार्क निर्माण सम्पन्न भए पोखराको यातायात व्यवस्थापनमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ ।
टहरा हटाउन सुरु भएसँगै पाँच दशकदेखि अधुरो रहेको बसपार्क निर्माणको सपना अब साकार हुने आशा स्थानीय तथा सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

