काठमाडौँ, जेष्ठ २६ गते ।
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाललाई सीमित अवधिको बनाउँदै विज्ञान तथा प्रविधिको क्षेत्रमा दीर्घकालीन आधार निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले परम्परागत ढंगले नभई परिणाममुखी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयलाई सक्रिय र प्रभावकारी बनाउने योजना सुनाए ।
पुनले आफू मन्त्री पदमा लामो समय बस्ने पक्षमा नरहेको स्पष्ट पार्दै सरकारको कार्यकाल पाँच वर्ष भए पनि आफ्नो प्राथमिकता तीन वर्षभित्र आवश्यक संरचना र नीतिगत आधार तयार गर्नु रहेको बताए। उनका अनुसार विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा आवश्यक जग बसालेर आगामी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु नै आफ्नो मुख्य उद्देश्य हुनेछ ।
उनले मन्त्रालय नयाँ संरचनासहित अघि बढिरहेको उल्लेख गर्दै धेरै काम शून्य अवस्थाबाट सुरु गर्नुपर्ने बताए। विज्ञान, प्रविधि र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउन नयाँ नियम, कार्यविधि तथा योजनाहरू निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
मन्त्री पुनले देशको विकासमा विज्ञान र प्रविधिको भूमिका निर्णायक हुने भन्दै अनुसन्धान, नवप्रवर्तन तथा प्रविधिमैत्री वातावरण निर्माणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाउने संकेत दिएका छन् ।

