गाैशाला, जेष्ठ २६ गते ।
महोत्तरीको गौशाला–औरही सडकखण्डमा भएको एक घातक सवारी दुर्घटनापछि फरार भएका चालक अन्ततः प्रहरीको फन्दामा परेका छन्। दुर्घटनामा प्रयोग भएको बससमेत फेला परेपछि घटनाको रहस्य खुलेको हो ।
बैशाख २८ गते राति गौशाला नगरपालिका–३ बागवानी क्षेत्रमा मोटरसाइकल र बस ठोक्किँदा मोटरसाइकल चालक सुभेश कुमार यादव गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको ज्यान गएपछि घटनाले दुःखद रूप लिएको थियो। तर दुर्घटनालगत्तै बस र चालक दुवै सम्पर्कविहीन बनेका थिए ।
घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढायो। खोजीका क्रममा दुर्घटनामा संलग्न बा ४ ख १५२६ नम्बरको बस धनुषाको मिथिला नगरपालिका–५ स्थित एक ग्यारेजमा लुकाएर राखिएको अवस्थामा भेटियो। बस फेला परेसँगै चालकसम्म पुग्ने बाटो खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा महोत्तरीको भंगहा नगरपालिका–३ निवासी ३१ वर्षीय राजिव चमार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परे। प्रहरीले उनलाई जेठ २१ गते नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चालकविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी उनलाई इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ। प्रहरीले घटनाका अन्य पक्षबारे समेत थप अनुसन्धान जारी रहेको जनाएको छ ।
दुर्घटनापछि फरार भएका चालक र बस दुवै फेला परेपछि मृतकका परिवारले न्यायको प्रक्रिया अघि बढेको भन्दै आशा व्यक्त गरेका छन् ।

