गाैशाला, जेष्ठ २८ गते ।
नेपालमा लागुऔषधको अवैध कारोबार र दुर्व्यसन बढ्दो चिन्ताको विषय बनेको छ। पछिल्लो दुई वर्षको तथ्यांकले लागुऔषधसम्बन्धी मुद्दामा करिब ४० प्रतिशत वृद्धि भएको देखाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८१४ वटा मुद्दा दर्ता भएकोमा २०८१/८२ मा यो संख्या बढेर १ हजार १३२ पुगेको छ। पक्राउ पर्नेहरूमा अधिकांश १९ देखि ४५ वर्ष उमेर समूहका युवा रहेका छन् ।
प्रहरीका अनुसार नेपाललाई ट्रान्जिट मार्गका रूपमा प्रयोग गर्दै विदेशी गिरोहहरू सक्रिय बन्दै गएका छन् । एमडीएमए, एलएसडी, कोकिन र हेरोइनजस्ता महँगा तथा सिन्थेटिक लागुऔषधको प्रयोग र कारोबार पनि विस्तार हुँदै गएको छ ।
लागुऔषध नियन्त्रणका लागि प्रहरीले डिजिटल कारोबारको निगरानी, उच्च जोखिम यात्रुको पहिचान तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिने रणनीति अघि सारेको जनाएको छ । साथै अवैध गाँजा र अफिम खेतीमा संलग्न व्यक्तिमाथि समेत कडा कारबाही गरिने चेतावनी दिएको छ ।

