गाैशाला, जेष्ठ २९ गते ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा दोस्रो दिन पनि धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते गरेको सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको संरक्षण गर्न तथा नागरिकको निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न महासंघले विगत दुई महिनादेखि देशव्यापी दबाबमूलक आन्दोलन सञ्चालन गर्दै आएको छ ।
महासंघले उठाएका मागप्रति सरकार गम्भीर नबनेको र माग सम्बोधनका लागि कुनै ठोस पहल नगरेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको हो। सोही क्रममा महोत्तरी शाखाले जिल्ला प्रशासन कार्यालय परिसरमा दोस्रो दिन पनि धर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासका अनुसार सरकारले पत्रकार महासंघका जायज मागहरू तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचना पाउने अधिकारको रक्षा लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत शर्त भएकाले यस विषयमा सरकार संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। महासंघले आफ्ना माग पूरा नभएसम्म केन्द्रीय समितिले घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

