गाैशाला, जेष्ठ ३० गते ।
दाङको देउखुरी क्षेत्रमा निर्माणाधीन कालाकाटे–सिक्टा हुलाकी सडकमा काम गर्ने एक मजदुरको बालुवाले पुरिएर मृत्यु भएको छ। शनिबार भएको उक्त घटनामा गढवा गाउँपालिका–२ का ४५ वर्षीय लालमणि यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक निर्माणका लागि बिटुमिन तयारी भइरहेको स्थानमा एस्काभेटरमार्फत बालुवा खसाल्ने क्रममा यादव बालुवामुनि परेका थिए। चालकले सो स्थानमा कुनै मजदुर नरहेको ठानेर बालुवा फालेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि तत्काल उद्धारको प्रयास गरिए पनि यादवलाई बचाउन नसकिएको जनाइएको छ। घटनामा संलग्न एस्काभेटर चालक अनिलकुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।
घटनाले निर्माणस्थलमा अपनाइने सुरक्षा सतर्कता र श्रमिक सुरक्षाको अवस्थाबारे पुनः प्रश्न खडा गरेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।

