गाैशाला, जेष्ठ ३१ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
तालिममा मटिहानी नगरपालिकाका २४ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। सहभागीहरूलाई सर्ने तथा नसर्ने रोग, समुदायस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य सचेतना तथा अन्य आधारभूत स्वास्थ्य विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम समापन समारोहमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीकी महिला स्वास्थ्य स्वयंसेविका फोकल पर्सन प्रतिभा सिंह तथा स्वास्थ्य शाखा प्रमुख पवन मण्डल ले सहभागी स्वयंसेविकाहरूलाई प्रमाणपत्र, झोला तथा छाता वितरण गर्नुभयो ।
तालिममा स्वास्थ्य चौकी मटिहानीका इन्चार्ज किशन कुमार मण्डल र कृष्णा चौधरी ले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य क्षेत्रमा समुदायस्तरमै प्रभावकारी सेवा प्रवाह र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।


