काठमाडौं, असार १ गते ।
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि छलफल सुरु भएको छ। आजको बैठकमा नौ मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकलाई समूहीकृत रूपमा प्रस्तुत गरी छलफल अगाडि बढाइएको हो ।
छलफलमा युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षासम्बन्धी मन्त्रालयहरूको बजेट शीर्षक समेटिएको छ ।
सभामुख डोलप्रसाद अर्याल ले आजको बैठकमा शून्य समय र विशेष समय नराखिएको जानकारी दिँदै खर्च कटौती प्रस्ताव दर्ता गरेका सांसदहरूलाई सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको बताउनुभयो ।
बैठकको कार्यसूचीअनुसार सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया लगायतले विभिन्न मन्त्रालयको विनियोजन रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्ले ले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको सामान्य छलफल सम्पन्न भइसकेको छ भने अर्थमन्त्रीले उठेका प्रश्नहरूको जवाफसमेत दिइसक्नुभएको छ ।
बैठकको प्रारम्भमा सभामुख अर्यालले प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेरसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

