राजकरण महताे
बर्दिवास, असार २ गते ।
महोत्तरीको बर्दिवास नगरपालिका–१२ स्थित बिजलपुरामा भएको विवाहित महिला रिकु कुमारी सिंहको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ। घटनामा संलग्नताको आशंकामा प्रहरीले मृतकका पति, ससुरा र सासूलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपीका अनुसार पीडित पक्षले पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि प्रारम्भिक चरणमै तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मृतकका पति शशीकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललिता देवी सिंह रहेका छन्। बाँकी दुई जना आरोपित भने हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा रिकु कुमारी सिंहले आफ्नै कोठाभित्र सलको पासो लगाएर आत्महत्या गरेको संकेत देखिएको भए पनि घटनालाई माइती पक्षले स्वीकार गर्न अस्वीकार गर्दै आएको छ। उनीहरूले यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै निष्पक्ष तथा गहिरो छानबिनको माग गरिरहेका छन् ।
मृतकका माइती पक्षले लामो समयदेखि घरायसी हिंसा, शारीरिक तथा मानसिक यातना, निरन्तर कुटपिट र सम्बन्ध विच्छेदका लागि दबाब दिइँदै आएको गम्भीर आरोप समेत लगाएका छन्। साथै, विवाहपछि पति शशीकुमार सिंहले अर्को विवाह गरेपछि रिकु कुमारीमाथि थप मानसिक दबाब सिर्जना भएको र सम्बन्ध विच्छेदका लागि निरन्तर दवाव दिइएको दाबी पनि गरिएको छ ।
घटनापछि स्थानीय स्तरमा आक्रोश फैलिँदा आरोपित परिवारको घरमा तोडफोड गरिएको मात्र नभई पार्किङमा रहेका सवारीसाधनमा आगजनीसमेत भएको थियो। सो क्रममा मोटरसाइकल र कारमा क्षति पुगेको बताइएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले तत्काल हस्तक्षेप गर्दै अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको थियो ।
यसैबीच, स्थानीयवासी र माइती पक्षले घटनास्थलमै घेराउ गर्दै निष्पक्ष अनुसन्धानको मागसहित लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था समेत सिर्जना भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपीका अनुसार घटनाको निष्पक्ष, तथ्यमा आधारित र गहन अनुसन्धान भइरहेको छ। प्रमाणका आधारमा दोषी देखिए कानुनअनुसार कडा कारबाही गरिने प्रतिबद्धता जनाइएपछि मात्रै मृतकको शवको कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।
हालको अवस्थामा यो घटना आत्महत्या हो वा योजनाबद्ध हत्या भन्ने विषय अझै अनुसन्धानकै घेरामा रहेको र अन्तिम निष्कर्ष प्रमाण र अनुसन्धानपछि मात्र सार्वजनिक हुने प्रहरीको भनाइ छ। साथै, घटनाले बिजलपुरा क्षेत्रमा महिला हिंसा, पारिवारिक विवाद र न्याय प्रणालीप्रतिको विश्वासबारे गम्भीर प्रश्न उठाएको स्थानीय स्तरमा चर्चा भइरहेको छ ।

