
गौशाला, असार ३ गते
नागरिकका गुनासा र सुझाव सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’मा दर्ता हुने उजुरीको संख्या लगातार बढिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म प्रणालीमा १ लाख १६ हजार ७ वटा गुनासा दर्ता भएका छन्, जसले सार्वजनिक सेवा र सुशासनप्रति नागरिकको बढ्दो चासो झल्काउँछ।
दर्ता भएका गुनासामध्ये ६५ हजार ४६९ वटा फर्छ्योट भइसकेका छन् भने हजारौँ गुनासा अझै अनुसन्धान, प्रशोधन तथा प्रक्रियागत चरणमा छन्। पछिल्ला तीन वर्षमा गुनासाको संख्या तीव्र रूपमा बढेको देखिन्छ। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म मात्रै ४५ हजार ६२३ उजुरी दर्ता भएका छन्।
तथ्याङ्कअनुसार सबैभन्दा बढी गुनासा प्रहरीसँग सम्बन्धित छन्। प्रहरी प्रधान कार्यालयविरुद्ध १० हजार ९७५ उजुरी दर्ता भएका छन्। त्यसपछि नेपाल विद्युत् प्राधिकरण, गृह मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा खाद्य स्वच्छता क्षेत्रका विषयमा बढी गुनासा प्राप्त भएका छन्।
सरकारले ‘हेलो सरकार’लाई सामान्य गुनासो दर्ता गर्ने माध्यमबाट नागरिक–सरकार सम्बन्ध सुदृढ गर्ने आधुनिक प्लेटफर्ममा रूपान्तरण गर्ने योजना अघि बढाएको छ। यसका लागि बहुच्यानल सेवा, २४ घण्टा सञ्चालन, वास्तविक समयमै अनुगमन र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने तयारी भइरहेको छ।
हाल नागरिकले वेबसाइट, नागरिक एप, टोल–फ्री नम्बर, इमेल, फेसबुक, एक्स, भाइबर, ह्वाट्सएप, एसएमएस तथा प्रत्यक्ष उपस्थितिमार्फत गुनासा दर्ता गर्न सक्छन्। प्राप्त गुनासामध्ये अधिकांश वेबसाइट र नागरिक एपमार्फत आउने गरेका छन्।
सरकारको दाबीअनुसार गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै प्राप्त सुझाव र उजुरीलाई नीतिगत सुधार तथा सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा प्रयोग गरिनेछ। यसले भविष्यमा ‘हेलो सरकार’लाई नागरिकको आवाज सुन्ने मात्र होइन, राज्य संयन्त्र सुधारको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
