काठमाडौं, असार ३ गते ।
अमेरिकामा कच्चा तेलको मौज्दात लगातार घट्दै गएको छ। अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) का अनुसार पछिल्लो सातामा मात्रै ८३ लाख ३० हजार ब्यारेल कच्चा तेल भण्डार घटेको अनुमान गरिएको छ, जुन बजारको अपेक्षाभन्दा निकै बढी हो।
पछिल्ला नौ साताको अवधिमा अमेरिकी कच्चा तेलको मौज्दात कुल ५ करोड २० लाख ब्यारेलले घटेको तथ्यांक सार्वजनिक भएको छ। यसअघि पनि एक सातामै ९१ लाखभन्दा बढी ब्यारेल मौज्दात घटेको थियो।
अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डार (एसपीआर) समेत निरन्तर ओरालो लागेको छ। पछिल्लो साता मात्रै ८९ लाख ब्यारेल तेल निकालिएपछि रणनीतिक भण्डार ३४ करोड ३ लाख ब्यारेलमा सीमित भएको छ, जुन चार दशकयताकै न्यून स्तर मानिएको छ।
यता, अमेरिकी तेल उत्पादन भने बढ्दो क्रममा रहेको छ। अमेरिकी ऊर्जा सूचना प्रशासन (इआईए) का अनुसार जुन ५ सम्मको सातामा दैनिक उत्पादन १ करोड ३७ लाख ९९ हजार ब्यारेल पुगेको छ, जुन अघिल्लो साताको तुलनामा बढी हो।
मौज्दातमा तीव्र कमी आए पनि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। अमेरिका–इरान सम्बन्धमा सकारात्मक संकेत देखिनु र होर्मुज जलडमरूमध्य पुनः सञ्चालन हुने सम्भावनाले बजारमा आपूर्ति सहज हुने अपेक्षा बढेपछि मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ।
मंगलबार ब्रेन्ट क्रुडको मूल्य ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.१८ डलरमा झरेको थियो। त्यस्तै, डब्लुटीआई कच्चा तेलको मूल्य ५.५७ प्रतिशतले घटेर ७६.२५ डलर प्रति ब्यारेलमा कारोबार भएको थियो।
इन्धनतर्फ पेट्रोलको मौज्दात २४ लाख ७९ हजार ब्यारेलले बढेको छ भने डिजेल तथा अन्य डिस्टिलेट इन्धनको भण्डार ४ लाख ६१ हजार ब्यारेलले घटेको छ। अमेरिकी तेल बजारमा मौज्दात घट्ने र उत्पादन बढ्ने प्रवृत्तिले आगामी दिनमा मूल्यको उतारचढावलाई थप प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

