गौशाला, असार ३ गते
लामो प्रतीक्षापछि नागढुङ्गा–नौबिसे सुरुङमार्ग साउन महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने ट्राफिक जाम घटाउने लक्ष्यसहित निर्माण गरिएको यो आयोजना अहिले अन्तिम तयारी चरणमा पुगेको हो।
आयोजना निर्देशनालयका अनुसार सुरुङमार्गभित्रका संरचनागत कामहरू पूरा भइसकेका छन् भने अहिले सुरक्षा परीक्षण, आपत्कालीन उद्धार अभ्यास तथा ट्राफिक व्यवस्थापनको अन्तिम तयारी भइरहेको छ। बाहिरतर्फ पहिरो नियन्त्रणको केही काम भने अझै बाँकी रहेको जनाइएको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सबै पूर्वतयारी लगभग पूरा भइसकेको छ र साउनभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
कुल २,६८८ मिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डको यात्रा समय घट्ने र दैनिक आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि पाएको छ। कम्पनीले सुरुङमार्गको सञ्चालन, मर्मतसम्भार र व्यवस्थापन गर्नेछ।
सुरुङमार्गमा सवारी आवागमनका लागि नगद, क्यूआर कोड र स्टिकर–आधारित स्वचालित भुक्तानी प्रणाली लागू गरिनेछ।
सरकारले राजपत्रमार्फत सवारी प्रकारअनुसार टोल शुल्क पनि निर्धारण गरेको छ। हलुका सवारी (कार, भ्यान, पिकअप, माइक्रोबस आदि) का लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ।
त्यसैगरी मिनीबस र मिनी ट्रकका लागि १२५ रुपैयाँ (प्रवेश) र ८० रुपैयाँ (निस्कने), बस तथा सिङ्गल एक्सल ट्रकका लागि २६० रुपैयाँ (प्रवेश) र २०० रुपैयाँ (निस्कने) शुल्क लाग्नेछ।
मल्टिएक्सल ट्रक र भारी उपकरणका लागि भने ६०० रुपैयाँ (प्रवेश) र २५० रुपैयाँ (निस्कने) शुल्क तोकिएको छ।
दैनिक हजारौँ सवारी आवतजावत हुने यो मार्गमा सुरुङ प्रयोगले करिब ६० प्रतिशत सवारीको यात्रा सहज हुने अनुमान गरिएको छ। दुईपाङ्ग्रे सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

