जनकपुरधाम, असार २ गते ।
बाल अधिकारको क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुईदिने बाल अधिकार कार्यक्रम तथा अनुगमनसम्बन्धी तालिम सम्पन्न भएको छ ।
सबल नेपाल, राजविराज सप्तरीको आयोजनामा तथा बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल, मधेश प्रदेशको समन्वयमा असार १ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा बाल अधिकार कार्यक्रमसम्बन्धी बुझाइलाई थप सुदृढ बनाउने, नैतिक तथा सार्थक बाल सहभागिता प्रवर्द्धन गर्ने, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने तथा बाल अधिकार अनुगमनका प्रक्रिया, उपकरण र प्रमाणमा आधारित अभ्यासबारे ज्ञान तथा सीप अभिवृद्धि गरिएको आयोजकले जनाएको छ ।
सबल नेपालकी अध्यक्ष जुना गिरीको अध्यक्षतामा सम्पन्न तालिममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश, इन्सेक मधेश प्रदेश, सहयोगी समाज नेपाल तथा सबल नेपालका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए ।
तालिममा मधेश प्रदेशका आठवटै जिल्लाबाट बालबालिकाको क्षेत्रमा कार्यरत २७ जना नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रदेश बाल सञ्जालका कल्पना साह, प्रदेश बाल सञ्जालका अध्यक्ष निरज कुमार साह, प्रोटेक्सन नेपाल रौतहटका सुनिल पण्डित, डीडीएफ सिरहाकी सरिता महरा तथा नागरिक समाज संस्था सञ्जालकी सचिव देवकुमारी महराले तालिमबाट प्राप्त सिकाइ, अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए ।
त्यसैगरी खेलकुद तथा समाज कल्याण मन्त्रालयका महाशाखा प्रमुख निर्मला मिश्रले प्रमुख अतिथिका रूपमा सहभागी हुँदै बाल अधिकार संरक्षण र प्रवर्द्धनका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।
समापन कार्यक्रममा अध्यक्ष जुना गिरीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बाल अधिकार संरक्षण र प्रवर्द्धनमा सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरेकी थिइन्। उनले नागरिक समाज संस्थाहरूको सक्रियता र सहकार्यबाट बालमैत्री समाज निर्माणमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै तालिम समापनको घोषणा गरेकी थिइन् ।


