गाैशाला, असार ५ गते ।
महोत्तरीको बलवा नगरपालिका वडा नं. ४ तिलगढमा १ करोड ५६ लाख ८७ हजार ७९५ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको ‘सुरक्षित आश्रय स्थल’ (Safe Shelter) को एक विशेष समारोहबीच उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।
वेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित Resilience Adaptation and Inclusion in Nepal (RAIN) परियोजना अन्तर्गत निर्माण गरिएको उक्त बहु-प्रकोप प्रतिरोधी भवनको उद्घाटन प्रमुख अतिथि बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महतोले रिबन काटी तथा शिलालेख अनावरण गरी गर्नुभएको हो । उद्घाटनसँगै भवन औपचारिक रूपमा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख राम विजय महतोले भवन निर्माण गर्नु मात्र पर्याप्त नभई यसको दीर्घकालीन संरक्षण र प्रभावकारी उपयोगका लागि स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले यस आश्रय स्थललाई समुदायको साझा सम्पत्तिका रूपमा ग्रहण गर्दै सुरक्षित राख्न स्थानीयवासीले जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
“यो भवन विपद्को समयमा नागरिकको जीवन रक्षा गर्ने महत्वपूर्ण संरचना हो । यसको सुरक्षा, संरक्षण र उचित उपयोगको जिम्मेवारी अब समुदायको हो,” उहाँले भन्नुभयो। साथै उहाँले भवनलाई विपद्को समयमा आश्रयस्थलका रूपमा तथा अन्य समयमा सामाजिक, शैक्षिक र सामुदायिक गतिविधिका लागि उपयोग गर्न आग्रह गर्नुभयो ।
भवन निर्माणका लागि कुल १ करोड ५६ लाख ८७ हजार ७९५ रुपैयाँ २६ पैसा खर्च भएको छ । यसमध्ये भवन निर्माणमा १ करोड ५० लाख ५७ हजार २८४ रुपैयाँ १५ पैसा तथा खोज, उद्धार तथा अन्य व्यवस्थापन सामग्री खरिदमा ६ लाख ३० हजार ५११ रुपैयाँ १२ पैसा खर्च गरिएको जनाइएको छ ।
२.५ तल्ले आरसीसी संरचनामा निर्माण गरिएको भवनको कुल क्षेत्रफल २ हजार ५९३ वर्गफिट रहेको छ भने एकैपटक १६५ जनासम्मलाई सुरक्षित आश्रय प्रदान गर्न सक्ने क्षमता रहेको छ। भवनमा अपाङ्गमैत्री र्याम्प, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हल, स्तनपान कक्ष, सुरक्षित शौचालय तथा फिल्टर गरिएको स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ ।
वेलायत सरकारको Foreign, Commonwealth and Development Office (FCDO) को आर्थिक सहयोगमा सञ्चालित RAIN परियोजना अन्तर्गत DanChurchAid (DCA) को नेतृत्व तथा People in Need (PIN) को सहकार्यमा भवन निर्माण सम्पन्न गरिएको हो। परियोजनाको स्थानीय कार्यान्वयन LI-BIRD ले गरेको जनाएको छ ।
विपद्को समयमा सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै सामान्य अवस्थामा सामुदायिक सभा, तालिम, बैठक तथा शैक्षिक गतिविधि सञ्चालनका लागि समेत भवन उपयोगी हुने विश्वास गरिएको छ ।
कार्यक्रम वडा नं. ४ का अध्यक्ष प्रमोद कुमार यादवको अध्यक्षता, प्रमुख अतिथिमा नगर प्रमुख राम विजय महतो, विशिष्ट अतिथिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप-सचिव गोमा पोखरेल ढकाल, जिल्ला सशस्त्र प्रहरी प्रमुख शेर बहादुर देउवा, पिपुल इन निड (PIN) का कार्यक्रम म्यानेजर विवेक मानन्धर, डीसीए (DCA) का कृति श्रेष्ठ, लक्ष्मण खत्री लगायत स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

