मोरङ, असार ५ गते ।
मोरङको रतुवामाई नगरपालिकामा विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रमा कार्यरत रतुवामाई नगरपालिका–४ सिंघारी निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार दिउँसो रतुवामाई–१ हटियाडाँडास्थित विद्युत् पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला अचानक करेन्ट लागेर मण्डल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक मण्डलको शव पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा गर्न रंगेली अस्पतालमा राखिएको छ ।

