जनकपुरधाम, असार ८ गते ।
धनुषा जिल्लाका १८ वटै स्थानीय तहका नगर बाल क्लब सञ्जालका प्रतिनिधिहरूको सहभागितामा आयोजित जिल्ला बाल भेलाबाट २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल सर्वसम्मत रूपमा गठन गरिएको छ ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख (सभापति) राजनन्द मण्डलको अध्यक्षता तथा उपप्रमुख (उपसभापति) संगीता कुमारी ठाकुरको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, नागरिक समाज सञ्जालका प्रतिनिधि तथा विभिन्न स्थानीय तहका बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भेलाले शिवकुमार सदाको नेतृत्वमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा आकाश पाठक, सचिवमा नन्दनी साह तथा सहसचिवमा लक्ष्मी मल्लिक चयन भएका छन्। कार्यक्रममा नवगठित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकाल तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा ‘शिक्षाको अधिकार’ विषयमा प्रस्तुति गरिएको थियो। उक्त प्रस्तुतीकरणमा आर्थिक वर्ष २०८३/०८४ का लागि मधेश प्रदेशको नीति तथा योजनामा शिक्षा सम्बन्धी समावेश कार्यक्रमहरू, शिक्षा क्षेत्रका प्रमुख योजनाहरू, शिक्षा क्षेत्रमा हासिल भएका उपलब्धिहरू तथा विद्यमान चुनौतीहरूबारे जानकारी गराइएको थियो ।
त्यसैगरी दोस्रो सत्रमा बाल अधिकार महासन्धिका सिद्धान्त, बाल अधिकारका चार आधारभूत पक्ष, बाल सहभागिता कार्यविधि–२०७८, तथा बाल क्लब सञ्जालको आवश्यकता, उद्देश्य र गठन प्रक्रिया सम्बन्धी विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।
सहभागीहरूले बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा बालमैत्री समाज निर्माणमा बाल क्लब सञ्जालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले बालबालिकाको नेतृत्व विकास, सहभागिता अभिवृद्धि तथा अधिकार सुनिश्चितताका लागि साझा मञ्च निर्माण गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

